नेपाली सेनाका हरिचन्द्रले दिए ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा अडिसन

लन्डन । नेपाली सेनाका लान्स कर्पोरल हरिचन्द्र गिरीले ‘द ब्रिटेन्स् गट ट्यालेन्ट’मा अडिसन दिएका छन् ।

बेलायती टिभी च्यानल आइटिभीमा प्रसारण हुने चर्चित उक्त शोका लागि गिरीले शनिबार द किया ओभल, सरे काउन्टी क्रिकेट क्लव लन्डनमा अडिसन दिएका हुन् ।

नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रका लान्स कर्पोरल हरिचन्द्रले तीन मिनेटभित्र वैशाखीलाई ब्यालेन्समा राखेर आँखाले नहेरी उल्टोबाट भर्‍याङको सिँढी ओर्लने, चढ्ने कला देखाए । त्यसमा खुकुरी ’प्याट्रन’ पनि समावेश थियो ।

गत वर्ष पनि उनले अडिसन दिएका थिए । यसपटक नतिजा राम्रो आउने आशामा छन् । यसको परिणाम अक्टोबर १७ मा आउने गिरीले जनाए ।

उनले सेप्टेम्बर १० मा गिनिज वल्र्ड रेकर्ड राख्ने उद्देश्यसहित फेरि अर्को प्रतिस्पर्धा पनि गर्दैछन् । दाङका स्थायी बासिन्दा ३१ वर्षीय गिरी १२ वर्ष अघि नेपाली सेनामा प्रवेश गरेका थिए ।

गिरीले पाँचौपटक विश्व कीर्तिमान बनाइसकेका छन् । उनले गुड्ने अवस्थामा रहेको टायरमाथि १ मिनेटमा १२० पटक स्किपिङ गरी ’मोष्ट स्किप्स अन यान पराइट टायर’ विद्यामा गिनिज वर्ल्ड रेकर्ड राखेका छन् ।

उनले रेकर्ड राखेको उक्त विद्या गिनिज बुक अफ वर्ल्ड रेकर्डमै पहिलो विश्व विद्याका रुपमा समावेश भएको थियो ।

यसबाहेक उनले ४ फरक विद्यामा पनि वर्ल्ड रेकर्ड कायम गरिसकेका छन् । उनले सन् २०२१ मा हातले टेकेर भर्‍याङको ५० खुड्किला १२.६५ सेकेन्डमा पूरा गर्दै पहिलो विश्व रेकर्डको सुरुवात गरेका थिए ।

त्यस्तै सन् २०२२ मा उनले २ वटा रेकर्ड बनाए । खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर सबैभन्दा छिटो २५.५८ सेकेन्डमा ५० मिटर हिँड्ने कीर्तिमान समेत उनकै नाममा छ ।

गिरीले खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर सबैभन्दा छिटो १० मिटर हिँड्ने नयाँ कीर्तिमान बनाएका थिए जुन उनले ४.४९ सेकेन्डमा पूरा गरेका थिए ।

त्यसैगरी सन् २०२३ मा २५.०३ सेकेन्डमा हातले टेकेर ७५ वटा खुड्किलाहरु झरेर चौंथो विश्व रेकर्ड कायम गरेका थिए ।

हातले टेकेर ५० खुड्किला १२.६५ सेकेन्डमा झरेको, खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर २५.५८ सेकेन्डमा ५० मिटर पार गरेको, खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर ४.४९ सेकेन्डमा १० मिटर पार गरेको अनि हातले टेकेर ७५ वटा खुड्किला २५.०३ सेकेन्डमा झरेको रेकर्ड पनि उनका छन् ।

उनले हिमालय रोडिज सिजन ४ मा समेत सहभागिता जनाएका थिए

By प्रदेश अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts